काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका हुन् ।
उनले विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसको दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै फेरि पनि त्यही प्रवृत्ति दोहोर्याउनु देशलाई अनिश्चिततातर्फ धकेल्नु भएको बताएका छन् । ‘अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भुमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ रु’ उनले लेखेका छन् ।
भट्टराईले उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक भएको बताएका छन् । उनले सरकार र सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्न पनि सबै नागरिकलाई आग्रह गरेका छन् । विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक वञ्चितीकरणमा परेका र गरिब तथा निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ ।
सत्तामा बस्नेहरूले जनताको आवाज नसुने विधिसम्मत ढंगले दण्डित गर्नुपर्ने र हटाउनुपर्ने उल्लेख गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् । ‘काम नगरे वा विगारे अर्को चुनावबाट बिदा गरौँ,’ भट्टराईले लेखेका छन् ।
