काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले नागरिकमैत्री सेवा, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्दै प्रहरी कर्मचारीलाई जनताको हित केन्द्रमा राखेर काम गर्न आग्रह गरेका हुन् ।
शुक्रबार आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले प्रहरीभित्र भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे । उनले प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा नागरिकप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने र अनुसन्धान प्रक्रियालाई निष्पक्ष तथा पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।
गुरुङले बदलिँदो समयसँगै बढिरहेका साइबर अपराध र वित्तीय अपराध नियन्त्रण गर्न प्रहरीको प्राविधिक क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । आधुनिक अनुसन्धान प्रविधिको प्रभावकारी प्रयोगसँगै प्रहरीको कार्यशैलीमा जवाफदेहिता कायम गर्न सके मात्रै नागरिकको विश्वास बलियो हुने उनको भनाइ थियो ।
‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ उनले भने । गृहमन्त्री गुरुङले सही र इमानदार ढंगले काम गर्ने प्रहरी कर्मचारीलाई सरकारले सधैँ साथ दिने प्रतिबद्धता जनाउँदै गलत कार्यमा संलग्न हुनेलाई भने संरक्षण नगरिने स्पष्ट पारे ।
