काठमाडौं । देशभर भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । विभिन्न जिल्लामा राष्ट्रिय राजमार्ग तथा सहायक सडक अवरुद्ध भएका छन् भने नदीको बहाव बढ्दा बस्तीहरू डुबानमा परेका छन् । जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने तथा देशका विभिन्न भाग जोड्ने सडकखण्डमा यातायात प्रभावित भएको छ । नारायणगढ–मुग्लिन, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण लोकमार्ग, चामे–बेँसीसहर सडक र अन्य प्रमुख सडकखण्डमा पहिरो, बाढी तथा सडक कटानका कारण आवागमन अवरुद्ध भएको छ । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा रोक लगाएका छन्।
प्रमुख सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडक– निरन्तर पहिरो खस्दा अर्को सूचना जारी नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ ।
पृथ्वी राजमार्ग– धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बीपी राजमार्ग– काभ्रेको रोशी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बालुवामा रोशी खोलाको बाढीले सडकको करिब १० देखि १५ मिटर भाग कटान गरेको छ ।
चामे–बेँसीसहर सडक– मनाङको नासो गाउँपालिका–३ खोत्रो क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिद्धिचरण लोकमार्गस् ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भुँडारे खोलामा आएको बाढीले सडकमा क्षति पुर्याउँदा यातायात बन्द भएको छ ।
घोराही–थवाङ–रुकुम सहिदमार्गस् रोल्पाको माडी गाउँपालिका–२ भालुबाङरे क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
गुल्मीस् चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्नेभीरमा पहिरो खस्दा रुरु–बामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ । नारायणी नदीको बाढी बस्तीमा पस्दा ४०० जना सुरक्षित स्थानमा स्थानमा सारिएको छ ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ थारू टोलमा नारायणी नदीको बहाव बढेर बस्तीमा पानी पसेको छ । नदीको पानी बस्तीमा पस्दा करिब ७० घरधुरीमध्ये ५–६ वटा घरमा पानी पसेर डुबान भएको छ ।
जोखिममा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासहित करिब ४०० स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई बड्काटोलस्थित विपद् व्यवस्थापन भवनमा राखिएको छ । नदीको बहाव अझै बढिरहेको विवरण प्राप्त भएको छ ।
भक्तपुरमा ९८ जनाको उद्धार
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित हनुमन्ते खोलामा डुबानको जोखिम बढेपछि सृजनाटोलका कच्ची टहरामा बस्दै आएका १६ परिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई कौशलटारस्थित जनप्रेमी स्कुलमा राखिएको छ ।
पाल्पामा पहिरोले दुई घर पुरिए, एक महिला बेपत्ता
पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्मुङ देउरालीमा पहिरोले दुईवटा घर पुरेको छ ।
पहिरोले स्थानीय के सुराम सारु मगर र रामबहादुर उचईका तीनतले कच्ची घर पुरिएका हुन् । रामबहादुर उचईको परिवारका चारै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
के सुराम सारुको परिवारका चार जनामध्ये ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्र पुरिएर बेपत्ता भएको प्रारम्भिक विवरण छ । अविरल वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ ।
रसुवा र नुवाकोट जाने सडकमा समस्या
रसुवाको पासाङ ल्हामु राजमार्गको ठूलो भाग त्रिशूली नदीको कटान र बाढीका कारण क्षतिग्रस्त भएको छ । धुन्चे हुँदै स्याफ्रुबेंसी जाने मुख्य सडक अवरुद्ध भएपछि टोखा–छहरे हुँदै विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पाच्याङ, भोले, कालिकास्थान, थ्याउबारी, राम्चे, सोले र धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्ने वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिने विवरणमा उल्लेख छ ।
टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।
विभिन्न जिल्लामा रातिको आवागमनमा रोक
भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा रातिको समयमा सडक आवागमनमा रोक लगाइएको छ । सोलुखुम्बुस् सिद्धिचरण लोकमार्गलगायत भित्री सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक सवारीसाधन र पैदल यात्रुको आवागमन बन्द ।
दाङ– तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी, घोराही–मुकुर्टी र तुलसीपुर–कालीमाटी सडकखण्डमा रातिको आवागमनमा रोक ।
रोल्पा– माडीचौरस्थित मदन भण्डारी राजमार्गमा जोखिमका कारण सवारी आवागमन बन्द ।
मनाङ– बेँसीसहर हुँदै खाङसार जाने तथा लमजुङको सीमादेखि खाङसार जाने सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द ।
सिन्धुली– बीपी राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द ।
दोलखा– जिल्लाभरका सडकमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द ।
काभ्रे– बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक ।
सिन्धुपाल्चोक–पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द ।
मकवानपुरमा पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ हुँदै सवारीसाधन सञ्चालनका लागि समयतालिका निर्धारण गरिएको छ । ११ मिटरभन्दा लामा यात्रुवाहक सवारीसाधन र निश्चित भारभन्दा बढीका मालवाहक सवारीसाधनलाई उक्त मार्गमा निषेध गरिएको छ ।
जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह
लगातारको वर्षाका कारण सडकमा पहिरो खस्ने, नदीले सडक कटान गर्ने र बस्ती डुबानमा पर्ने जोखिम बढेको छ । विभिन्न स्थानमा उद्धार तथा सुरक्षित स्थानान्तरणको काम भइरहेको छ ।
सम्बन्धित निकायले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, अवरुद्ध सडकमा जबर्जस्ती प्रवेश नगर्न र जोखिमयुक्त नदी तथा खोलाको किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।
