काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए । पौडेल दम्पतीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरिन् ।
इन्द्रजात्रा अवलोकनमा उपराष्ट्रपति, सभामुख, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, पुगेका थिए । प्रधानमन्त्री वालेन्द्र शाह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा छन् ।
राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गरेका थिए । इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको थियो। कार्यक्रममा कुमारी, गणेश र भैरवको रथयात्रालगायत परम्परागत जात्रा तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।
