काठमाडौँ। काठमाडौँ प्रहरीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा चुस्त बनाउने गरी सुरक्षा कार्ययोजना तयार गरेको छ।सोमबार पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति तयार गरेर लागु गरेको हो।
पशुपति मन्दिर क्षेत्रमा सुरक्षाका लागी दुई सिफ्टमा सोमबार २ हजार ५ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए। मन्दिर परिसरमा सुरक्षा नेतृत्व डीएसपीले गर्नेछन्। मन्दिर क्षेत्रमा आइतबार कमान्ड पोस्ट स्थापना गरेर सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनको प्रभावकारी अनुगमन, निर्देशन र समन्वयको व्यवस्था मिलाइएको एसपी थापाले बताए।
समग्र सुरक्षा परिचालन तथा व्यवस्थापनको कमान्ड काठमाडौँ परिसरका अपरेशन कमाण्डरले गर्नेछन् । सुरक्षा परिचालनको अनुगमन तथा निर्देशन एसपी र एसपीले गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा योजना बनाएको छ । दर्शनार्थीहरूको सुरक्षित आवागमन, भीड व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, चोरी तथा पाकेटमारी नियन्त्रण, ट्राफिक व्यवस्थापन र आकस्मिक उद्धारका लागी प्रहरी परिचालन गरिएको एसपी थापाले बताए ।
कमान्ड पोस्टबाट सुरक्षा अवस्थाको निगरानी तथा समन्वय गर्ने गरी योजना तयार गरिएको छ । मन्दिर क्षेत्रमा सुरक्षाको लागी सिसिटिभी जडान गरिएको छ । सम्भावित चोरी, पाकेटमारी तथा अन्य आपराधिक गतिविधिको नियन्त्रण एवं निगरानीका लागि उल्लेख्य संख्यामा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको एसपी थापाले जानकारी दिए । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरूलाई प्रहरीले आफ्नो सामानको सुरक्षामा सावधान अपनाउन आग्रह गरेको छ । कुनै समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
