काठमाडौँ । नेकपा ( एमाले ) पुनर्गठन कार्यदलको बैठक काभ्रेको पनौतीमा बस्ने भएको छ । बैठकका लागि कार्यदलका सदस्यहरू आइतबार बिहान मात्र काभ्रेको पनौतीस्थित एक होटलमा पुगेका हुन् । यद्यपि उनीहरुले होटलको नाम भने गोप्य राखेका छन् । शनिबारबाटै आवासीय बैठक बस्ने भनेपनि नेताहरु आइतबारमात्रै पनौति पुगेपछि बैठकपनि आइतबारबाटै सुरु हुने एक नेताले जानकारी दिए ।
उनीहरूका अनुसार कार्यदल संयोजक रामबहादुर थापा ’बादल’ र सदस्य सचिव शंकर पोखरेलले अलग अलग प्रतिवेदन मस्यौदा पेस गरेपछि दुवैलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार पार्ने तयारी छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकमा बादल र शंकर दुवैको प्रस्ताव अध्ययनका नेताहरूलाई बाँडिएको थियो । ‘हामी सोमबार बेलुकासम्म एउटै प्रतिवेदन बनाएर फर्कन्छौ’, एक कार्यदल सदस्यले रातोपाटीसँग भने । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे बादल र पोखरेलको मस्यौदामा मूल नेतृत्व जिम्मेवार हुने कि नहुने भन्नेमा मतभेद रहेको छ ।
