काठमाडौं । बौद्धस्थित सांस्कृतिक केन्द्र लिच्छवि हाउसले पहिलो संस्करणको लिच्छवि सिनेमा फेस्टिभल आयोजना गर्ने भएको छ। फेस्टिभल आगामी सेप्टेम्बर ११ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।
काठमाडौं महानगरपालिका र युरोपियन युनियनको सहयोगमा आयोजना हुने फेस्टिभलमा नेपालसहित भुटान, भारत, पाकिस्तान, थाइल्यान्ड, फ्रान्स, जर्मनी, जापान र रुसका चयनित चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।
लिच्छवि हाउसका अनुसार फेस्टिभलको उद्देश्य नेपालमा अन्तर्राष्ट्रिय तथा गम्भीर प्रकृतिका चलचित्र हेर्ने सीमित अवसरलाई विस्तार गर्नुका साथै चलचित्रमार्फत विभिन्न देश, समाज र संस्कृतिबीच संवाद स्थापित गर्नु हो।
फेस्टिभलमा अबिनाश विक्रम शाह निर्देशित ‘Elephants in the Fog’ पनि प्रदर्शन गरिनेछ। उक्त चलचित्रले यसै वर्षको कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा जुरी पुरस्कार जितेको थियो।
विश्व सिनेमाबाट Mathieu Kassovitz को ‘La Haine’, Wim Wenders को ‘Perfect Days’ तथा चर्चित थाई निर्देशक Apichatpong Weerasethakul को ‘Memoria’ लगायतका चलचित्र प्रदर्शनमा रहनेछन्।
यसैगरी फेस्टिभलमा Icefall Productions को ‘The Red Phallus’ लाई पनि समावेश गरिएको छ। भुटानी निर्देशक Tashi Gyeltshen द्वारा निर्देशित यो चलचित्रले हिमाली समाज, लैंगिकता, हिंसा, परम्परा र सामाजिक संरचनाजस्ता विषयलाई केन्द्रमा राख्छ।
फेस्टिभलमा Andrei Tarkovsky, Payal Kapadia, Khyentse Norbu, Deepak Rauniyar लगायतका निर्देशकका चलचित्रसमेत प्रदर्शन हुनेछन्। चलचित्रहरूले दैनिक जीवन, इतिहास, द्वन्द्व, बसाइँसराइ, संस्कार तथा पुस्तान्तरणसँगै समाजमा भइरहेका परिवर्तनलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
फेस्टिभलका क्युरेटर अभिषेक बुधाथोकीले नेपालमा बनेका चलचित्रहरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिरहे पनि नेपालमै गम्भीर तथा गुणस्तरीय सिनेमा हेर्ने अवसर सीमित रहेको बताए।
उनका अनुसार यही अभावलाई सम्बोधन गर्दै नेपाली दर्शकलाई विश्व सिनेमासँग जोड्ने र चलचित्रमार्फत सांस्कृतिक संवादको वातावरण निर्माण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो।
लिच्छवि हाउसका संस्थापक तथा फिल्ममेकर ख्येन्ट्से नोर्बुको नेपालसँगको लामो सम्बन्ध र चलचित्र तथा सांस्कृतिक संवादप्रतिको प्रतिबद्धतालाई पनि फेस्टिभलले निरन्तरता दिने आयोजकको भनाइ छ।

