काठमाडौं । बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न सरकारले प्रभावकारी पहल नगरेको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी ( आरआर ) क्याम्पसको गेटमै दाउरामा खाना पकाएका छन्। अखिल ९क्रान्तिकारी०मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पस गेटमा दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएका हुन्। उनीहरूले गेटमै पकाएको खाना बसेर खाएका थिए।
बजारमा ग्यासको अभाव हुँदा जनजीवन प्रभावित भएको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउन यस्तो विरोध गरेको बताएका छन्। ग्यासको अभावका कारण कतिपय विद्यार्थी पढाइ छाडेर ग्यासको लाइनमा बस्न बाध्य भएका छन् भने कतिपयको डेरामा खाना पकाउन समेत समस्या भएको छ।
ग्यास नपाउँदा आफूहरू चाउचाउ र बिस्कुटको भरमा बस्नुपरेको विद्यार्थीहरूको गुनासो छ। उनीहरूले तत्काल ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
