हेटौँडा । भदौ ४ गते नियुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को समर्थनमा ६३ सदस्यसहितको समर्थनमा थापा मुख्यमन्त्री भएका हुन् । तर राप्रपाले आफ्ना प्रदेश सभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेश सभा सदस्यबाट कारबाही गरेर अरु ३ प्रदेश सभा सदस्यलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुख्यमन्त्रीलाई संकट परेको छ । उनीसँग एमालेको २५ र नेपाली कम्युनिष्ट पार्टीको २६ सदस्य मात्रै छ । राप्रपाले निर्वाचनमा मत नदिन ह्विप जारी गरेको छ ।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने, त्यसमाथि दलहरूले छलफल गर्ने छन् । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३६ सांसदले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । मुख्यमन्त्रीलाई ५३ मत आवश्यक छ ।
बागमती प्रदेश सभा सभामुखविहीन छ र संविधानको धारा १८६ अनुसार अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईंले मत दिन नपाउने अवस्थामा मुख्यमन्त्री अरु संकटमा छन् । राप्रपा र कांग्रेसको ह्विपका कारण मुख्यमन्त्रीलाई समर्थन गर्ने ६३ सदस्य भए पनि मतदानमा ५० को हाराहारीमा रहेकाले समस्या देखिएको हो ।
बागमती प्रदेशमा हाल नेपाली कांग्रेसको ३६, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
एमालेले दिएको विश्वासको मत फिर्ता लिएपछि एक महिनाका लागि भए पनि हाम्रो नेपाल पार्टीबाट अघिल्ला मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सरकारमा एक सदस्य मन्त्री भएकाले यो पार्टीको समर्थन पनि नहुने सम्भावना छ । सरकार बनाउने खेलमा नलाग्ने भएकाले नेपाल मजदुर किसान पार्टीको तटस्थ भूमिका पनि मुख्यमन्त्रीका लागि परीक्षाको विषय बन्ने छ ।
