कपिलवस्तु। कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर गाउँपालिका–४, ज्योतिनगरकी ४५ वर्षीया फनिसरा सारु र ५६ वर्षीया नन्सरी घर्ती मगर, पर्साको ठोरी गाउँपालिका–२ की ४८ वर्षीया चुमा लामिछाने तथा दाङको राजपुर गाउँपालिका–३ की ४३ वर्षीया विमला पुन रहनुभएको छ। उहाँहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, साउन ६ गते शिवराज नगरपालिका–५, चन्द्रौटास्थित सुन्दर टोलबाट १८ वर्षीय अनुप नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो। उहाँको साथबाट ५८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषध र एक थान मोबाइल बरामद भएको थियो। पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।
