काठमाडौँ । सरकारले प्रारम्भिक बालविकास ( इसिडी ) सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिकमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूले पाउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले लामो समयदेखि थोरै पारिश्रमिकमा काम गर्दै आएका तल्लो तहका विद्यालय कर्मचारी तथा सहजकर्ताको मनोबल उकास्न यो कदम चालिएको बताए।
यसैगरी, मन्त्रिपरिषद्ले माध्यमिक तह ( कक्षा ९–१० ) र आधारभूत तह ( कक्षा ६–८ ) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूबारे पनि महत्त्वपूर्ण निर्णय गरेको छ। अब ती शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षक सरह कायम हुने भएको छ
