काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धीरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ। रक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले शिष्टाचार भेटवार्ता गरेका हुन्। उक्त भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन्। सोमबार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।
त्यही दिन उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एक(अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ। उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ।
