काठमाडौँ। विभिन्न दल सम्मिलित अग्रगामी मोर्चाले जसपा नेपालको निर्देशन विपरित लुम्बिनी प्रदेशमा सो पार्टीका सांसदलाई मन्त्री बनाउने निर्णय सच्चाउन माग गरेको छ । मोर्चाको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साथै प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गराउने कार्यको समेत मोर्चाले विरोध गरेको छ।
‘संसदीय व्यवस्था, लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनुका साथै अनैतिक कार्य समेत भएको हुँदा सोको मोर्चा घोर भर्त्सना र निन्दा गर्दछ । उक्त अनैतिक एवं असंसदीय कार्यलाई तुरुन्त सच्चाउन समेत अनुरोध गरिन्छ’, बैठकपछि मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मोर्चाको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ । मोर्चामा जसपा नेपाल, आजपा, प्रलोपालगायतका राजनीतिक दलहरू सहभागी छन्।
