काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सांसद मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद आचार्यले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा दिएको जानकारी र यथार्थ अवस्था फरक रहेको बताए ।
उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा आएर ग्यासको कुनै समस्या छैन भन्नुभएको थियो, तर व्यवहारमा अझै पनि उपभोक्ताले ग्यासको समस्या भोगिरहेका छन् । समस्या अझै समाधान भएको छैन ।’ सांसद आचार्यले ग्यास आपूर्तिलाई सहज बनाउन सरकारको योजना के छ भन्दै प्रश्न गरे । उनले ग्यासको विकल्प र विद्युतीय ऊर्जाको प्रयोगका विषयमा पनि सरकारको स्पष्ट धारणा माग गरे ।
‘ग्यास कसरी उपलब्ध गराउने रु यसको विकल्प के हो ? विद्युतीय सामग्रीको प्रयोगलाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतका विषयमा सरकारको जवाफ चाहियो,’ उनले भने । मन्त्रीले सदनमा समस्या छैन भनिरहँदा जनताले सास्ती पाउनु विडम्बनापूर्ण रहेको भन्दै उनले तत्काल समाधानका उपाय खोज्न सरकारलाई आग्रह गरे ।
