काठमाण्डौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मनार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष समारोहकाबिच मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। नेपाल र भारतबिच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहेको छ।
समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देलसँगै सेनाका उच्च अधिकारीहरु सहभागी थिए। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव उपस्थित थिए। तीनदिने नेपाल भ्रमणका क्रममा सेठ आइतबार अपरान्ह काठमाडौँ आइपुगेका हुन्।
सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा नेपाल भ्रमणमा रहेका सेठले जंगी अड्डामा एक कार्यक्रमबिच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। सैनिक सामग्री तथा स्वास्थ्य सामग्रीमा के के हस्तान्तरण भयो भन्ने निश्चित हुन बाँकी रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।
त्यसअघि भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए। जङ्गी अड्डामा प्रधानसेनापति सिग्देलसँग शिष्टाचार भेटघाट गरेका सेठले त्यसअघि सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण गरे। उनलाई जंगी अड्डामा गार्डअफ अनर प्रदान गरिएको थियो।
