हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा बुझाएका छन्। सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका बानियाँले लगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्। साउन ६ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए।
विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रदेश सभा बैठक बोलाइएको थियो। तर बहुमत सदस्यको समर्थन जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत लिनुअघिनै राजीनामा दिने घोषणा गरेका हुन्। १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी ( हानेपा ) का २ गरी ३८ सांसद मात्रै देखिएका थिए।
बहुमत जुटाउन नसक्ने अवस्था भएपछि बानियाँले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए। त्यसपछि उनले प्रदेश प्रमुख देवकोटासमक्ष राजीनामा बुझाएका हुन्। बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। आफ्नै दलभित्र शक्ति प्रदर्शन गर्दै प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका बानियाँ एक वर्ष नपुग्दै सत्ताबाट बाहिरिएका हुन्। बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। अब प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउनेछन्।
