काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार विशेष सम्बोधन गर्ने भएका छन् । पार्टी मुख्यालय सानेपामा जारी बैठकको समापनका अवसरमा थापाले पछिल्लो समय पार्टीभित्र विकसित आन्तरिक समीकरण र इतर समूहको गतिविधिलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
विशेष गरी संस्थापनइतर समूहले काठमाडौँमा गरेको तीन दिने राष्ट्रिय भेलाको निर्णयका सम्बन्धमा थापाले विस्तृत जवाफ दिने तयारी गरेका कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । आइतबार काठमाडौँमा आयोजित धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले यसबारे जानकारी दिएका थिए ।
उनले सानेपामा पत्रकारहरूलाई समेत आमन्त्रण गर्दै सुकेधारा भेला र त्यसले उब्जाएका प्रश्नहरूबारे आफूले करिब एक घण्टा बोल्ने बताएका थिए । ‘चुनदेवीमा सम्पर्क कार्यालय खोलेर संस्थापनइतर पक्षले सुकेधारामा गरेको तीन दिने भेलाबारे म सोमबार केन्द्रीय समिति बैठकमा जवाफ दिनेछु,’ थापाले भने, ‘पार्टी कार्यालय सानेपामा पत्रकार साथीहरूलाई पनि बोलाएर यसबारे एक घण्टा बोल्ने मेरो कार्यक्रम छ ।’
