काठमाण्डौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गरेका छन्। चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ११औँ एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो आग्रह गरे।
अर्थमन्त्री डा। वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तिब्रता दिएको बताए। गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटमार्फत सरकारले २७ वटा नयाँ ऐन परिमार्जन तथा तर्जुमाको प्रक्रिया अघि बढाएको र सार्वजनिक संस्थानहरूको सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० जस्ता अत्याधुनिक प्रविधिमा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याएको उनले जानकारी दिए।
सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत बाधाहरू हटाउँदै लगेको स्पष्ट पार्दै उनले हालै ‘धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली’ मा संशोधन गरिएको जानकारी दिए। उक्त संशोधनमार्फत एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने शेयरमा ८५ प्रतिशतसम्मको हिस्सा सुनिश्चित गरिएको र यसले डायस्पोराको लगानीलाई उच्च प्राथमिकता दिएको सन्देश प्रवाह गरेको उनको भनाइ छ।
