काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कुनै पनि किसिमको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन्। शुक्रबार काठमाडौँको सुकेधारामा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले दलभित्र र बाहिर निरंकुशता स्वीकार्न नसकिने बताएका हुन्। ‘हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौं। कांग्रेस कुनै निरंकुशता नस्वीकोर्न पार्टी हो,’ उनले भने। अहिले लोकतन्त्र अप्ठ्यारो अवस्थामा रहेको उनको भनाइ थियो। ‘प्रजातन्त्र भनौ, लोकतन्त्र भनौ अहिले अप्ठ्यारो परिस्थितिमा छ,’ कोइरालाले भने।
सरकारले प्रेस स्वतन्त्रता, न्यायपालिका, मानव अधिकारको अवस्था अप्ठ्यारो अवस्थामा रहेको उनको भनाइ थियो। ‘अहिले प्रेस स्वतन्त्रतामाथि अँध्यारो बादल छाउन थालेको अवस्था छ। त्यसलाई नेपाली कांग्रेसले मात्रै चिर्न सक्छ,’ उनले भने। सरकारको आदेशमा मानव अधिकारको हनन भइरहेको जिकिर गरे। ‘मानव अधिकार अत्यन्त नाजुक अवस्थामा गइरहेको छ। माथिको आदेश भनेर मानिसको घरमा गएर पुलिस प्रशासनले खानतलासी गरिरहेको छ। यो अवस्थालाई स्वीकार गर्न मिल्दैन,’ उनले भने।
उनले न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्नेमा जोड दिए। अब न्यायपालिकाले न्याय गर्ने बताए। ‘हामीले प्रयास पनि गरेको हो। त्यो विफल भयो,’ उनले भने, ‘सर्वोच्चले न्याय दिन्छ, त्यो न्यायबाट हामी अगाडि बढ्छौं।’ कांग्रेस एकजुट हुनेमा उनले विश्वास व्यक्त गरे। ‘नेपाली कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको छ,’ कोइरालाले भने, ‘एकढिक्का हुन्छ भन्ने कुरामा म विश्वस्त छु।’
