बिराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० को बीचमा मन्त्रालय बाँडफाँटको विषय टुंगो लागेको छ। एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय राख्ने र नेकपाले ४ मन्त्रालय पाउने गरी सहमति भएको हो। कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर सोमबार दिउँसो ३ बजे शपथ हुने गरी सहमति भएको छ। यसअघि एमाले र नेकपाका नेताहरूले शुक्रबार नै मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए।
शुक्रबार दिउँसो भएको नेकपा एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको बीच पार्टी अध्यक्षहरूसहितको बैठकले मन्त्रालयको संख्या टुंगो लगाएको हो। कुन मन्त्रालय कसलाई दिने भन्ने बारेमा अझै टुंगो नभइसकेको नेकपाका नेता आङ्बोले जानकारी दिए। सहमतिमा कुन मन्त्रालय कसलाई भन्ने बारेमा उनले केही बताउन चाहेनन्।
सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच वटा मन्त्रालय राख्नेछ। बैठकमा सहभागी नेताहरूका अनुसार अर्थ र आन्तरिक मामिला मन्त्रालय एमालेले नै राख्नेछ भने भौतिक पूर्वाधार विकास मन्त्रालय नेकपाको भागमा पर्नेछ। आन्तरिक मामिला मन्त्रालय आफ्नै नेतृत्वमा राख्ने अडान मुख्यमन्त्रीको रहेको स्रोतले जनाएको छ। अनावश्यक विवाद र हल्ला नहोस् भनेर कुन मन्त्रालय कसले पाउने भन्ने विस्तृत विवरण आइतबार मात्र सार्वजनिक गर्ने गरी दुई नेताका बिचमा सहमति भएको छ।
नयाँ मन्त्रालय थपेर वा फुटाएर सङ्ख्या बढाउनुभन्दा हाल कायम रहेकै मन्त्रालयहरूको कार्यभार क्षेत्र अनुसार मिलाउने बारेमा पनि छलफल भएको नेताहरूले बताएका छन्। सरकारमा सहभागी हुने मन्त्रीहरूको सन्दर्भमा एमालेले हाल कायम रहेका आफ्ना मन्त्रीहरूलाई नै निरन्तरता दिने भएको छ। एमालेका मन्त्रीहरू तत्काल नफेरिने र उनीहरूबाटै काम अघि बढाउने रणनीति बनाइएको छ। उता नेकपाभित्र भने सोलुखुम्बुका गोम्बु शेर्पा, इलामकी खिनु लङ्वा लिम्बु, मोरङका गिता तिम्सिना,ओखलढुंगाका बाबुराम गौतमलगायतका नयाँ अनुहारलाई मन्त्री बनाउने तयारीमा नेकपा देखिएको छ।
सोमबार मन्त्रिपरिषद् पुनर्गठन र शपथ ग्रहण सकिएपछि बुधवार बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य तालिका छ। बजेट पारित गरेपछि लामो समय स्थगित भएको कोसी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजेको लागि बोलाइएको छ। अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा इन्द्रमणि पराजुली, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय चिन्तन पाठक, सामाजिक विकास मन्त्रालयमा रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विदुर कुमार लिङ्थेप नेकपा एमालेका मन्त्रीहरूले नेतृत्व गर्दै आएको छ।
यसअघि नेपाली कांग्रेसले सम्हाल्दै आएका मन्त्रालयहरूमा नयाँ साझेदार दलका मन्त्रीहरू सहभागी गराइने सहमति छ। जसअनुसार स्वास्थ्य, कृषि, वन तथा पर्यटन र भौतिक पूर्वाधार विकास मन्त्रालय नयाँ घटक नेकपाको भागमा परेका छन्। सत्ताको नेतृत्व गरिरहेको नेकपा ९एमाले० बाट सरकारमा रहेका हालका सबै मन्त्रीहरूलाई भने यथावत् राख्ने तय भएको छ। मन्त्रालयको सङ्ख्या र मन्त्रालयहरू टुंगिसकेकाले अब नयाँ गठबन्धनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन चाँडै न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने गरी गृहकार्य भइरहेको छ।
विभाग वा मन्त्रालयको आन्तरिक हेरफेर र समायोजन गर्नुपरेमा मुख्यमन्त्री र नेकपा संसदीय दलका नेता आङ्बोबिचको समझदारीमा टुङ्ग्याइने रणनीति बनाइएको छ। विशेष गरी सामाजिक विकास र कृषि मन्त्रालयबिच साटफेर हुन सक्ने सम्भावनाबारे आन्तरिक छलफल चलिरहेको छ।
