काठमाडौँ। हिन्दु मान्यता अनुसार साउन महिना भगवान् शिवसँग जोडिएको महिना हो । साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ । विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।
यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले हिन्दुहरूले विशेष रूपमा लिने गरेका संस्कृतिविद् गोविन्द टण्डनले बताउनुभयो । उहाँका अनुसार विशेष गरी साउनको सोमबारमा भगवान् शिवको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनामा निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेष गरी हिन्दु महिलाले यसलाई बढी महत्व दिने गरेका छन् । साउन महिनाका सोमबार व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दु पुराणमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ । साउने सोमबार, १६ सोमबार र सोम प्रदोष । अन्य बारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुणा बढी फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वरलगायत चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेको घुइँचो लाग्ने गर्छ ।
