काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनको मिति कुनै पनि हालतमा तलमाथि गर्न नहुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताएका हुन्। उनले पार्टी विधान र कानूनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गरे।
‘पार्टीको महाधिवेशनको लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन। किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ’, उनले भने, ‘नेपालको कानूनको व्यवस्था पनि त्यही छ । त्यसकारण असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ त्यही कुरामा हुन्छ । त्यो हाम्रो अन्तिम विषय नै हो।’
उनले पार्टीको बृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको लारिहेको उनले बताए। सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्यरूपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताए ।
उनले पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताए। ‘पञ्चायत कालमा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएको बीपी कोइरालाका कार्यकर्ता हौँ हामीहरू। त्यसकारण हामी न्यायालयमाथि विश्वास राख्नुपर्छ राख्छौँ। अन्य राजनीतिक कुराहरू त समयक्रमसँगै खुल्दै गइहाल्छन् नि’, उनले भने। उनले १५ औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत जारी बैठकमा छलफल गर्ने बताए।
