काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्गबहादुर केसी र सचिव प्राडा रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई सपथ गराएका हुन् । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराए ।
सपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।
नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा.डा. खड्गबहादुर केसी र सचिवमा प्राडा रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रा.डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष ( रेक्टर ) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् । उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय छन् ।
आयोगकी नवनियुक्त सचिव प्राडा रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी हुन् । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् भने नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।
