काठमाण्डौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्। नेता प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका हुन्। ‘उहाँ साउन २६ गते बेलुकी स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी पाएको छु,’ महतले भने। देउवा उपचारका लागि चुनावअघि सिंगापुर गएका थिए।
त्यहाँबाट उनी थप उपचारका लागि हङकङ गएका थिए। देउवा हङकङबाट स्वदेश फर्कन लागेका हुन्। यसअघि देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराएका थिए। देउवा दम्पतीमाथि गत वर्ष भदौ २४ गते निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्न लागेका छन्। उक्त भेलाको मुखमा देउवा स्वदेश आउन लागेका छन्। उनी भेलामा सहभागी हुने वा नहुने निश्चित भइसकेको छैन।
