हेटौँडा । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराएका हुन् । उनी हाम्रो नेपाली पार्टी ९हानेपा०बाट सरकारमा सहभागी भएका हुन् ।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । प्रदेश सरकार अल्पमतमा रहेका बेला हानेपाबाट बज्राचार्यलाई मन्त्री बनाइएको हो ।
सत्ता साझेदार एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार यसअघि नै अल्पमतमा परेको छ । संविधानअनुसार सरकारले भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । यहीबिचमा सत्ता टिकाउने प्रयासस्वरुप बानियाँले बज्राचार्यलाई मन्त्री बनाएका हुन् । यसअघि मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको निरन्तरताका लागि भन्दै एमाले, नेकपा, राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग औपचारिक रूपमा समर्थन माग्दै पत्राचार गरेका थिए ।
