काठमाडौँ । फेरिएको राजनीतिक समीकरण अनुसार कतिपय प्रदेशहरूमा नयाँ सरकार गठन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को समेत आवश्यकता देखिए पनि अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको विषय आफ्नो पार्टीको प्राथमिकतामा नपरेको बताएका छन् । प्रदेशमा एमाले कांग्रेस समीकरण भत्किएर एमाले र नेकपाबिच नयाँ समीकरण बने पनि केही प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाको समेत आवश्यकता पर्ने देखिएका बेला अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
साथै, उनले प्रदेश सरकार गठनबारे एमाले र नेकपाले आफूसँग कुनै छलफल समेत नगरेको बताएका छन् । केही छैन, हामीसँग कसैले कुराकानी पनि गरेको छैन र अहिले हाम्रो प्राथमिकतामा सरकार परेको छैन’, अध्यक्ष लिङदेनको भनाइ छ । एमाले र नेकपाले प्रदेश सरकारमा सहभागी हुन प्रस्ताव नगरेको बताएका लिङदेनलाई प्रस्ताव आए कस्तो निर्णय गर्नुहुन्छ भनेर सोध्दा पार्टीमा सल्लाह गर्ने जवाफ दिए ।
‘त्यस्तो प्रस्ताव कसैले राख्यो भने पार्टीमा सल्लाह त गरिन्छ तर,सत्तामा जाने सरकारमा सहभागी हुने कुनै लाइन छैन’,अध्यक्ष लिङ्देनको भनाइ छ । एमाले र नेकपाको नयाँ समीकरण अनुसार बागमती, लुम्बिनी र कोशीमा समेत राप्रपालाई साथ लिएर सरकार गठन गर्न सकिने ती दलका नेताहरूको भनाइ छ ।
