काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनै पनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन्। बिहीवार आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री वाग्लेले वर्तमान सरकार र प्रधानमन्त्री स्वयंले नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिएको उल्लेख गर्दै व्यक्तिगत चिनजान वा पहुँचका आधारमा नभई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए। प्रधानमन्त्री बालेन्द्र साहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
प्रधानमन्त्रीले विधिपूर्वक काम गर्न र नतिजा देखाउन निर्देशन दिएको उल्लेख गरे। सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्णतः निरुत्साहित गरिने उनले बताए। विगतमा सरुवाका लागि नेता र गुट समात्ने अभ्यासले ऊर्जा र समय नष्ट गरेको चर्चा गर्दै उनले अब त्यस्तो प्रणाली अन्त्य हुने दाबी गरे। राजस्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि आफू स्वयं देशभरका भन्सार र कर कार्यालयहरूको स्थलगत अनुगमनमा जाने प्रतिबद्धता समेत उनले व्यक्त गरे। कर्मचारीहरूका समस्या, चुनौती र गुनासा भए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे।
वाग्लेले भने, ‘राजनीतिक दबाब कुनै पनि हालतमा हुनेछैन भन्ने स्पष्ट गरिसकेको छु। हाम्रो प्राथमिकता व्यक्ति होइन, नतिजा हो। प्रधानमन्त्रीले पनि हामीलाई बारम्बार भन्नुहुन्छ– कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो छैन‚ नतिजा आउनुपर्छ।’ प्रणाली सुधार र सुशासन प्रवर्धनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कतै अनियमितता वा बदमासी भएको भए प्रमाणसहित जानकारी गराउन कर्मचारीहरूलाई निर्देशन दिए। यो कुनै व्यक्तिगत आग्रह नभई समग्र प्रणाली सुधारको अभियान भएको उनको भनाइ छ।
