काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसार पसार सम्बन्धी व्यवस्था परिमार्जन गर्दै नेपालमा २०० र ५०० दरका भारतीय रुपैयाँ ९भारु० नोट प्रयोग गर्न सकिने व्यवस्था स्पष्ट गरेको छ। राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था अनुसार भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका प्रचलनमा रहेका २०० र ५०० दरका नोट नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्। यद्यपि सन् २०१६ नोभेम्बर ९ भन्दा अघि जारी भएका ५०० र १००० दरका भारतीय नोट भने प्रतिबन्धित नै रहनेछन्।
यस्तै, भारतीय नागरिकबाहेक अन्य विदेशी तथा नेपाली नागरिकले प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा भित्र्याउन वा बाहिर लैजान सक्नेछन्। यसभन्दा बढी रकम भएमा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी आवश्यक प्रमाणित प्रक्रिया पूरा गर्नुपर्नेछ। राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य कुनै मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट नेपाल ल्याउन भने निषेध गरिएको पनि स्पष्ट पारेको छ।
नयाँ व्यवस्थाले विदेशी मुद्रा कारोबारसम्बन्धी अन्योल हट्नुका साथै नेपाल आउने भारतीय पर्यटकलाई सहजता पुग्ने विश्वास गरिएको छ। साथै, विदेशी विनिमय नियमन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा समेत यसले सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।
