काठमाडौँ । नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘ग्रीन रन’ आयोजना गरेको हो। काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेश बहादुर पाल प्रथम भएका थिए । उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरे ।
त्यसैगरी दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ अमृत ठकुरीलाई १० हजार र छैठौ नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि झण्डै १ हजार ४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उनीहरुलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ । ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी थिए भने अन्य सयौँले अप्रतियोगीका रुपमा सहभागिता जनाएका थिए।
ग्रीन रन प्रतियोगितापछि जाउलाखेलमा जलवायु परिवर्तन सम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो ।पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइएको थियो।प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको सभापति थापाले बताए ।
‘अहिले हामी जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न पनि यहाँ उभिएका छौं। यसका बारेमा हामी बृहत कार्यक्रमको तयारी गरेका छौँ,’ सभापति थापाले भने । जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याउनुभएको सभापति थापाले स्मरण गराए । जननायक विपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उनको भनाइ थियो।
‘समावेशिताको अवधारणालाई पनि सात दशक अगाडि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागू गराएर हामीलाई सिकाउनुभएको छ, त्यसप्रति पनि हामी पूर्ण प्रतिबद्ध छौँ,’ सभापति थापाले भने । सो अवसरमा जलवायु परिवर्तन सम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका बिरुवा समेत वितरण गरिएको थियो । बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ।
