नयाँदिल्ली । भारतमा चिकित्सा शिक्षा प्रवेश परीक्षा ( नीट ) को पेपर लीक प्रकरणलाई लिएर राजनीतिक तनाव उत्कर्षमा पुगेको छ। संघीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बाहिर प्रदर्शनमा उत्रिएका लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस नेता प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। कांग्रेस र विपक्षी सांसदहरूले मंगलबार दिउँसो ७ लोक कल्याण मार्गस्थित प्रधानमन्त्री निवास बाहिर आकस्मिक धर्ना सुरु गरेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका विपक्षी नेताहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो। कांग्रेस प्रवक्ता पवन खेराले प्रहरीले राहुल र प्रियंका गान्धीमाथि दुर्व्यवहार गरेको र उनीहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी नदिएको आरोप लगाएका छन्। विपक्षी नेताहरू धर्नामा बसेपछि सरकारका तर्फबाट वार्ताका लागि केन्द्रीय मन्त्री जितेन्द्र सिंह र केन्द्रीय गृह सचिव गोविन्द मोहन घटनास्थल पुगेका थिए।
वार्ता असफल भएपछि सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री सिंहले नेता प्रतिपक्ष राहुल गान्धी आफ्नो वाचाबाट पछि हटेको दाबी गरे। सरकार संसद्मा नीटबारे छलफल गर्न तयार भए धर्ना छोड्ने प्रतिबद्धता जनाएका राहुलले पछि शिक्षा मन्त्रीको राजीनामाको अडान थपेर कुरा फेरेको मन्त्री सिंहको आरोप छ। कांग्रेसले भने विद्यार्थी र युवाहरूले न्याय नपाएसम्म प्रधानमन्त्री निवास अगाडिबाट नहट्ने अडान लिएको थियो। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले मोदी(शाह सरकारलाई कायर तानाशाह भन्दै युवाहरूको भविष्य बर्बाद पारेकाले उनीहरूले राजीनामा दिनुपर्ने बताए।
सो क्रममा प्रहरीले पञ्जाब कांग्रेसका नेताहरू चरणजीत सिंह चन्नी र सुखजिन्दर सिंह रन्धावालाई पनि हिरासतमा लिएको छ। यस्तै, जन्तरमन्तरमा ककरोच जनता पार्टी ९सीजेपी० को विरोध प्रदर्शन पनि जारी रहेको छ। यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले नीट पेपर लीक प्रकरणमा पहिलो पटक बोलेका छन्। एनडीए सांसदहरूको बैठक मङ्गल मिलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सरकारले पेपर लीकको खबर आउनासाथ तुरुन्त कारबाही गरी १२ जनालाई जेल पठाइसकेको जानकारी दिए।
बैठकपछि संघीय संसदीय कार्य मन्त्री किरेन रिजिजूले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘विद्यार्थीहरूको भविष्यलाई प्राथमिकता दिँदै बिना ढिलाइ पुनः परीक्षा सफलतापूर्वक सम्पन्न गराइएको छ। प्रधानमन्त्रीले आगामी दिनमा पेपर लीक रोक्न कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै यस्तो अपराधमा संलग्नलाई कडा सजाय दिलाउन कानुन व्यवसायीहरूको सहयोग लिन अपिल गर्नुभएको छ।’
