काठमाण्डौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सरकारले लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्दै प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाएका छन्। जननायक विपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी दुई पृष्ठ लामो सन्देशमार्फत देउवाले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा अहिलेको प्रमुख आवश्यकता भएको बताएका हुन्।
देउवाले स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक प्रणालीमाथि दबाब सिर्जना गर्ने संकेत देखिएको उल्लेख गर्दै कार्यकारी नियन्त्रणमार्फत प्रतिपक्षलाई आतंकित बनाउने प्रयास भइरहेको दाबी गरेका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेसको जिम्मेवारी केवल प्रतिपक्षको भूमिका निभाउनेमा सीमित नरही लोकतन्त्र, संविधान, राष्ट्रियता र जनताको अधिकारको रक्षा गर्ने ऐतिहासिक दायित्वसमेत थपिएको उनको भनाइ छ।
उनले लोकतन्त्रभन्दा ठूलो कुनै विकल्प नरहेको उल्लेख गर्दै जनताको सार्वभौम अधिकार र जनमतको सम्मान नै राष्ट्रको भविष्य निर्धारण गर्ने आधार भएको बताएका छन्। लोकतन्त्र कमजोर हुँदा राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमसत्तासमेत जोखिममा पर्ने भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको देउवाको धारणा छ।
विपी कोइरालाको राजनीतिक आदर्श स्मरण गर्दै देउवाले राष्ट्रिय मेलमिलाप, लोकतन्त्र, समाजवाद र राष्ट्रिय एकताको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्। विपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको बताउँदै उनले विपीले दिएको जिम्मेवारी, विश्वास र लोकतान्त्रिक संस्कारले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देशन गरेको उल्लेख गरेका छन्।
देउवाले कांग्रेसले विगतमा लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका चुनौतीबीच जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गर्दै अहिले पनि देशलाई विभाजन होइन, एकता आवश्यक रहेको बताएका छन्। उनले अविश्वास होइन विश्वास, प्रतिशोध होइन सहकार्य र संवादमार्फत राष्ट्र निर्माणको अभियान अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
साथै उनले विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा विदेशमा रहे पनि आफ्नो सोच, चिन्ता र ध्यान निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गरेका छन्। नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर रूपमा नियालिरहेको बताउँदै फरक विचारप्रति असहिष्णुता, राज्यशक्तिको दुरुपयोग र राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।
सन्देशको अन्त्यमा देउवाले नेपाली कांग्रेस लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय, समावेशिता र संवैधानिक मूल्यमान्यताप्रति अडिग रहेको दोहोर्याउँदै राजनीतिक शक्ति, नागरिक समाज, युवा र आमजनतालाई लोकतान्त्रिक मूल्यको संरक्षणका लागि एकजुट हुन आह्वान गरेका छन्।
