काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए ।
सांसद शाही मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । उनले यो विषयमा घटनालगत्तै पनि संसद्मा आफ्ना कुरा राखेर सरकारको ध्यानाकर्षण गराएका थिए । हिजै राति आफू र प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे वीर अस्पताल पुगेको र त्यतिबेलै चिकित्सक हरूले ९५ प्रतिशत बाँच्ने सम्भावना नरहेकोबारे आफूहरूलाई जानकारी गराएको उनले बताए । ‘सरकारले गणेशकाप्रति नाटक गर्यो । हिजो बेलुका म त्यहाँ ( वीर अस्पताल ) गएको थिएँ ।
उसको चिकित्सकले भने अनुसार ९५ प्रतिशत बाँच्ने अवस्था छैन भन्नुभएको थियो । आज रातभर गृहमन्त्री लगायतले जुन स्टन्टबाजी गर्नुभएको छ,’ उनले भनेका छन् । गृहमन्त्री सुधन गुरुङले राति नै अस्पताल पुगेर उपचारका लागि नयाँ दिल्ली लाने तयारी भएको बताएका थिए । साथै, अस्पतालदेखि विमानस्थलसम्म प्रहरी परिचालन समेत गरेका थिए । गृहमन्त्रीको उक्त कार्यलाई सांसद शाहीले ‘स्टन्टबाजी’ को संज्ञा दिएका छन् ।
‘उहाँले गर्न खोज्नुभएको प्रयास होला ठिक । तर गणेश नेपाली राति नै बितिसकेका रहेछन् । बिहानसम्म घोषणा गरिएन । हामी भीष्मराज आङ्देम्बे र म गइसकेपछि शैयामा राखिरहेको लासलाई हेरिसकेपछि स्वास्थ्यमन्त्री, अस्पतालका चिकित्सकसँग बसेर उहाँहरूले किन घोषणा गर्नुभएन त ? ,’ उनले भने, ‘मान्छे बितिसकेको छ, पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भन्नुहुन्छ । मान्छेको मृत्यु भइसकेको छ, तपाईं के को पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ, भनेपछि अहिले मृत्यु घोषणा प्रयास गरिरहेका थिए ।’
