दार्चुला । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम गाउँमा झोलुंगे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको बताएका हुन्।
कोशिस उहाँहरुले गर्नुभएको हो। तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्छ। महँगी धेरै भयो। अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो। म दार्चुला हुँदा देखेको थिएँ, त्यता आमसञ्चार छैन। अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलि घटयो रे भन्ने छ।’
उनले प्रतिनिधि सभामा आफ्नो दलको विरोध जारी रहने पनि बताए। सदनमा हाम्रो विरोध जारी छ। जारी रहन्छ। प्रधानमन्त्रीले त्यसो चाहिँ नभन्नुपर्ने थियो, उनले भने।
