काठमाण्डौं । नेकपा (एमाले ) ले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको आपत्ति जनाएको छ। मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। उनले पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरीत रहेको निष्कर्ष समेत पार्टीले निकालेको बताए।
उनका अनुसार बैठकले उपाध्यक्ष पौडेलललाई तत्काल रिहा गर्न माग गरेको छ। उनले भने, ‘हिजो मात्रै सुर्खेतबाट गैरराजनीतिक, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ पर्नुभएका नेकपा ९एमाले० का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जसरी अपमानपूर्ण ढंगले प्रक्राउ गरियो, उहाँसँग पिएसओ छ, उहाँ राज्यको सम्पर्क र खबरमा हुनुहुन्छ।
आज काठमाडौं आउँदै हुनुहुन्थ्यो। त्यो कुरा थाहा भई भई राज्यले दुःख दिने हिसाबले रातारात सार्वजनिक यातायातको माध्यमबाट जसरी काठमाडौं ल्याउने काम गरियो, यो गैरन्याकि र गैरकानूनी छ। यो कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ।
यो पक्राउको एमाले संसदीय दलले घोर विरोध र भत्र्सना गरेको छ । बिनासर्त अविलम्ब रिहाईको माग पनि गरेको छ।’ महरले बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको पनि बताए। उनले बैठकले अध्यक्ष ओलीलाई धन्यवाद ज्ञापन सहितका विभिन्न ७ वटा प्रस्ताव पारित गरेको पनि जानकारी दिए। न्युज एजेन्सी नेपाल
