चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्थे। सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक अधिकांश कर्मचारीले बिदा पाउँथे। तर, यस वर्ष असारको पहिलो साता सकिन लाग्दा सौराहाका होटल मुख्य सिजनजस्तै भरिभराउ छन्। होटलमा कोठा पाउनसमेत कठिन भएको अवस्था छ।
सौराहासहित भरतपुर आसपासका होटलमा देखिएको भीडभाडको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन हो। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ नजिकको सिट जित्न सफल रास्वपाको आज भरतपुरमा उद्घाटन हुने तीनदिने राष्ट्रिय महाधिवेशनका कारण चहलपहल बढेको भन्दै होटल व्यवसायी खुसी देखिएका छन्।
होटल व्यवसायी सङ्घ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता, कार्यकर्ता, पर्यवेक्षक तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थितिका कारण होटल तथा पर्यटन व्यवसायमा चहलपहल बढेको हो। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या चार हजार २११ रहेको छ।
क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलियाले रास्वपाको महाधिवेशनका कारण बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताए। उनले भने, ‘आइतबार सार्वजनिक बिदा हुन थालेपछि यसअघि जस्तो बजार सुनसान थिएन। यसैबीच महाधिवेशन घोषणा भएसँगै सौराहामा चहलपहल बढेको छ। समग्रमा यस वर्ष यहाँका होटल व्यवसायी लाभान्वित भएका छन्।’
उनका अनुसार सौराहामा रहेका करिब १५० होटलमा सात हजार जनासम्म बस्ने क्षमता छ। सौराहाको होटल भिस्टाका सञ्चालक रमेश सिलवालले महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भए पनि पर्यटकीय गन्तव्य सौराहा घुम्न र बस्न आउने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेख्य रहेको बताए।
सिलवालका अनुसार नेकपा एमालेको महाधिवेशनपछि रास्वपाको अधिवेशनले पनि सौराहालाई प्रचारप्रसारसँगै थप पर्यटक दिलाएको छ। सौराहाका रेस्टुरेन्ट व्यवसायी दीपेन्द्र खतिवडाले होटल बासका लागि सोधपुछ गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार अधिकांश सहभागी शुक्रबार साँझसम्म चितवन आइपुगेकाले आजदेखि सौराहा पूर्ण रूपमा भरिभराउ हुने अवस्था छ।
होटल व्यवसायी सङ्घअन्तर्गत रहेका ७३१ होटल तथा रेस्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश होटल भरिएको व्यवसायीले बताएका छन्। सङ्घका निवर्तमान अध्यक्ष कृष्ण भट्टले गत वर्ष यतिबेला करिब ४० प्रतिशत अकुपेन्सी हुने गरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटल भरिएको बताए। उनले भने, ‘राम्रा अधिकांश होटल भरिएका छन्। मध्यमस्तरका केही होटलमा मात्र कोठा बाँकी छन्।’ उनका अनुसार स्तरीय होटल खोज्ने पाहुना सौराहालगायतका क्षेत्रतर्फ गइरहेका छन्।
भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईंले दुई दिनदेखि होटल पूर्ण रूपमा भरिएको बताए। महाधिवेशन अवधिभर होटलमा कोठा खाली नहुने उल्लेख गर्दै उनले भने, ‘हाम्रो होटलमा अन्य समयमा आउने नियमित पाहुना नै महाधिवेशनमा आएकाले होटल भरिएको हो।’ दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीले झन्डै एक साताअघिदेखि नै महाधिवेशनसम्बन्धी बैठक र गतिविधिका कारण होटल भरिएको बताए। महाधिवेशनअघि शनिबार सोही होटलमा रास्वपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो।
चितवन मात्र नभई नवलपरासीको गैँडाकोटका होटल पनि भरिएका छन्। गैँडाकोटस्थित ‘द नारायणी रिसोर्ट’का प्रबन्ध निर्देशक रविन पण्डितले आफ्ना दुवै होटल तीन दिनदेखि पूर्ण रूपमा भरिएको बताए। रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन आएका छन्। होटल व्यवसायीसँग कोठाको विवरण सङ्कलन गरी प्रतिनिधिलाई पूर्वजानकारी दिइएको थियो।
गौतमका अनुसार होटल व्यवसायीले अन्य समयको तुलनामा सहुलियत दरमा कोठा र खानाको व्यवस्था गरेका छन्। सहभागीले आफ्नै खर्चमा बसोबास गर्नुपर्ने भएकाले घुमफिरका लागि परिवारसहित आउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। आयोजकले सोमबारदेखि बन्दसत्रका क्रममा मात्र खानाको व्यवस्था गरेको छ। अन्य समयमा सहभागीले आफैं भोजन गर्नुपर्ने भएकाले होटल तथा रेस्टुरेन्ट व्यवसायमा प्रत्यक्ष प्रभाव परेको र अहिले चितवनका अधिकांश होटल भरिभराउ भएका छन्।
