काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षामन्त्रीको खोजी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह सदनमा नआएपनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रक्षा मन्त्रालय अन्तर्गतको छलफलमा विभागीयमन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका समेत उपलब्ध नगराइएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिभिसभाको बुधबारको बैठकमा उनले रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक सांसदहरूलाई किन वितरण गरिएन भन्दै सभामुखमार्फत सरकारसँग जवाफ माग गरे। साम्पाङले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन मागसमेत गरे।
‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन’, उनले भने, ‘यसले सदनको गरिमा बढाएको छैन। उक्त राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावत् छ।’
साम्पाङले आफ्नो राष्ट्र छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूका लागि सोच्नुपर्ने तर्क गरे। ‘उनीहरूलाई कि स्वदेश फिर्ता पठाउने पहल गरियोस्, होइन भने परिवार मिलनका लागि अन्य राष्ट्र पठाउने व्यवस्था मिलाइयोस्’, उनले भने।
