काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाब दिएको विषयमा सरकारको जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कार्यालय कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ नभएको बताए। उनले भने, ‘प्रधानमन्त्री कार्यालय देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन।
संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारबाहीका निम्ति भनेर सत्ताको दुरुपयोग गरिराख्नुभएको यदि छ भने यो गम्भीर विषय हो। यसलाई छानबिन गरियोस्।’ उनले यस घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरे। उनले मात्रै नभई नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ र एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले पनि यो विषय सदनमा उठाए।
त्यसै गरी नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई दबाब दिएर पक्राउ पुर्जी जारी गराउन खोजिएको भनिएको विषय बाहिर आएको विषयमा पनि सत्यतथ्य छानबिन गर्न माग गरे। आरोपबारे प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सदनलाई जानकारी गराउन माग गरे ।
उनले भने, ‘संवैधानिक निकायका प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, प्रधानमन्त्री कार्यालयको कोठाभित्रै पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। यसको सत्यतथ्य छानबिन गर्नका लागि संसदीय छानबिन आयोगको समितिको गठन गर्नुपर्दछ ।’
