सुर्खेत । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको स्थलगत अनुगमन गर्नुभएको छ। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको निर्माण तथा तयारीबारे जानकारी लिन उहाँले अनुगमन गर्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना रहेको बताउनुभयो। प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन निर्देशन समेत दिनुभयो।
सो अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रवीन्द्र चन्दले मन्त्री पोखरेललाई रङ्गशालाको हालको भौतिक अवस्था र निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुद क्षेत्रमा भौतिक संरचनाको कमी भएकाले सरकारले यसमा विशेष ध्यान दिने बताउनुभयो। उहाँले कर्णालीको रङ्गशालाले यस क्षेत्रको खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास समेत व्यक्त गर्नुभयो।
