काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराधको मुद्दा पर्सा जिल्ला अदालतबाट फिर्ता भएको छ। महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिलमार्फत जिल्ला अदालतमा आरोपपत्र संशोधनका लागि निवेदन परेको थियो।
आज न्यायाधीश मोहन सुवेदीको इजलासले सोही निवेदनका आधारमा आरोपपत्र संशोधनको आदेश गरेको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए।
अब पर्सामा रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दामात्रै कायम रहेको छ। उक्त मुद्दाका आरोपी र पीडितबीच मिलापत्र हुने बाटो पनि खुला भएको छ। मिलेमा सहकारी ठगीको पनि मुद्दा फिर्ता गर्न सकिन्छ। यसअघि कास्की अदालतबाट उनीमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता भइसकेको छ।
