काठमाडौं । संसदमा पहिलो पटक प्रधानमन्त्री बालेन शाहले आज सम्बोधन गरे । प्रतिपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि बोलाउन नियमापत्तीदेखि संसद अवरुद्ध समेत गरेका थिए । तर आज अचानक साईत जुराएर प्रधानमन्त्री आए । संसद नियमावली अनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनसांसदहरूका लिखित प्रश्नको जवाफ दिनुपर्छ । तर, यो नियम विपरीत प्रधानमन्त्री बालेन्द्र शाह आज आकस्मिक रूपमा संसद बैठक आएर केही सांसदहरूलाई जवाफ दिए । न सांसदहरूसँग प्रश्न तयार थियो, त प्रधानमन्त्रीसँग जवाफ ।
नियमावलीअनुसार प्रधानमन्त्री उपस्थित हुनेभन्दा तीन दिनअगाडि नै सांसदहरूले लिखित प्रश्न बुझाउनुपर्थ्यो । त्यस बमोजिम प्रधानमन्त्रीले पनि जवाफका लागि समय पाउँथे । प्रधानमन्त्रीको सचिवालयले लिखित जवाफ नै प्रधानमन्त्रीलाई दिने अभ्यास थियो । क्रमभंगताकै क्रममा प्रधानमन्त्री शाहले आज कुनै लिखित जवाफ नबोकी आएका थिए । फलतः मनमा जे आयो त्यही बोलेर हिँडे । धेरै जवाफ सटिक र सन्तुलित पनि थिए, तर केही संवेदनशील ठाउँमा चुके । यो तयारी नहुनुको नतिजा थियो । एउटा विषय त निकै विवादित भइहाल्यो, जुन उनले नेपाल र भारतको सीमासम्वन्धमा बोलेका थिए ।
उनले अर्को एउटा विषयमा पनि गलत तथ्य राख्न पुगेका छन् । उनी बोलिरहेका थिए, नेपालले अति कम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा उक्लिन नचाहनुको कारणबारे । प्रधानमन्त्रीले जवाफ तार्किक नै दिए । नेपालले विकासशील राष्ट्रमा उक्लिँदाका बेफाइदाहरू उनले सुनाए । यस क्रममा चीनको दृष्टान्त दिए, जुन गलत थियो । उनीसँग सही सूचना रहेको भए यो दृष्टान्त अझै प्रभावकारी हुने थियो । प्रधानमन्त्रीले भनेका थिए, ‘हाम्रै छिमेकी राष्ट्र चीन अस्ति भर्खरै डेभलपिङबाट डेभलप्डमा गएको थियो । जबकि डेभलपमेन्टको पराकास्टा गइसकेको देश हो ।’
खासमा चीन अहिले नि विकासोन्मुख ( डेभलपिङ ) को हैसियतमै छ । प्रधानमन्त्रीले भनेजस्तो अस्ति भर्खर विकासोन्मुखबाट विकसित राष्ट्रमा गएको कुनै पनि सूचना भेटिँदैन । संयुक्त राष्ट्रसंघदेखि विश्व व्यापार संगठनसम्मले विकासोन्मुखको हैसियतमै राखेका छन् । हो, चीन विकासको चरमचुलीमा छ, तर पनि उसले आफ्नो कागजी स्टाटसमा स्तरोन्नति गर्न चाहेको छैन । किनकी विकसित राष्ट्रमा गएपछि उसले थुप्रै उत्तरदायित्वहरू निभाउनुपर्ने हुन्छ । संसद बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले गलत तथ्य राखेको भन्दै सच्याउन माग गरेकी थिइन् ।
