काठमाण्डौं । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य बिमाका सेवा अनिश्चित कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। बढ्दो वित्तीय संकट’ कारण देखाउँदै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमा सेवा यही जेठ १६ देखि अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ। यस अवधिमा आकस्मिक सेवा मात्र प्रदान गरिने बोर्डले जनाएको छ।
स्वास्थ्य बिमा बोर्डले भनेको छ, ‘स्वास्थ्य बिमा बोर्डको बोर्ड बैठकको मिति २०८३/ ०२/ ११ गतेको निर्णयानुसार स्वास्थ्य बिमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवा मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैर(आकस्मिक बीमा सेवा स्थगित गरिएको उल्लेख छ । पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले गम्भीर वित्तीय समस्या झेलिरहेका कारण भुक्तानी व्यवस्थापनको कठिनाइले सरकारी अस्पतालको सेवासमेत प्रभावित भइरहेका छन् ।
