हेटौडा । बागमती प्रदेश सभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ। प्रदेश सभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
यस्तै प्रदेश सभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ( कर प्रस्तावबाहेक ) प्रस्तावमाथि आजैदेखि छलफल हुने भएको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारको आगामी आव २०८३/ ८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ( कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए।
सो प्रस्तावमाथि आज बिहान बस्ने प्रदेश सभाको बैठकमा छलफल हुने कार्यसूची रहेको सचिव पौडेलले बताए।
