काठमाण्डौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जननेता मदन भण्डारीले स्थापिन गरेको वैचारिक आधार नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्ति भएको बताएकी छन्। शनिबार ‘मिडियामा मदन भण्डारी’ पुस्तकबारे आयोजित विमर्श कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले मदनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताइन्। मदनको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन रहेको उनको भनाइ थियो।
उनले पुस्तकको पनि प्रशंसा गरिन्। पुस्तक नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विकासक्रम, वैचारिक रूपान्तरण र राजनीतिक यात्रा समेटिएको उनले बताइन्। ‘लामो समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका जननेता मदन भण्डारीको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि उहाँले छोड्नुभएको वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन तथा प्रभावकारी रहिआएको छ । उनले भनिन्, ‘उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृति प्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन् ।’
अहिलेको अवस्थामा मदनको विचार अझ सान्दर्भिक रहेको उनले बताइन्। त्यसैले मदनका विचारको गहन अध्ययन गर्नु युवा पुस्ताको दायित्व भएको उनको भनाइ थियो। ‘लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुनः राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन्,’ भण्डारीले थपिन्, ‘यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ।’ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुलाई सूचना तथा सञ्चार प्रविधिको तिब्र विकास भएकोले आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न सुझाव पनि दिइन् ।
