काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने बताएका छन् । नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छ्न् ।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरे । सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने पुनको भनाइ छ ।
ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरु छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए । सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन पुनले ध्यानाकर्षण गराएका छ्न् ।
