काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए।
उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराए। वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? उनको प्रश्न छ। प्रधानमन्त्री शाहले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उनको आरोप छ।
उनले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गरेका छन्। जनताका प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाई छ। उनले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिए। उनले सरकार संविधानको धारा ७६(१०) अनुसार संसद्प्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्ने बताए। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिनुपर्ने माग राखे।
प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने प्रतिपक्षको माग लोकतान्त्रिक, न्यायिक र कानुनसम्मत भएको उनले जिकिर गरे। उनले थपे, ‘कहिले राष्ट्रपतिको अपमान गर्ने, संसद्को अपमान गर्ने, जवाफ नदिने, यो कुराले संसद् र जनताका आवाजहरूलाई, जनताका समस्याहरूलाई सही ढङ्गले लैजान सकिन्छ ?
