काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे।
ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी
प्रचण्डले ट्रेड युनियनलाई लोकतन्त्रको मुख्य आत्मा भन्दै कडा रूपमा भने, ‘आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियन हुन्। लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि नबढौं। लोकतन्त्रका संस्थाहरूलाई हामीले नष्ट गर्ने होइन, निर्माण गर्ने हो।’
उनले युवा सांसदहरूलाई ट्रेड युनियनलाई पेशागत संगठनको रूपमा सुदृढ बनाउने बहस गर्न आग्रह गरे
प्रेस स्वतन्त्रतामाथि संकुचन
प्रचण्डले अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनपछि बनेको सरकारले नै प्रेस स्वतन्त्रता संकुचन गर्नु बिडम्बनापूर्ण भएको बताए।
उनले भने, ‘हिजो हामीले बोलेकै भरमा थुनिनुपर्ने परिस्थितिको विरोध गर्यौं तर आज हामी मिडिया संस्थाहरूलाई नियमन गर्ने, कमजोर गर्ने अभ्यास गर्दैछौं। प्रश्नहरूबाट भागेर हैन प्रश्नहरूको जवाफ दिएर मात्रै लोकतन्त्रको विकास हुन्छ।’
सरकारको स्वेच्छाचारिताको आलोचना
प्रचण्डले सरकारलाई थप कडा प्रहार गर्दै भने, ‘संख्याको दम्भमा विधि मिच्ने काम नहोस्। आफैंले बोलाएको संसद स्थगित गरेर जनप्रतिनिधिहरूलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नु भयो, जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरु सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरूलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धती र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छरु’
उनले सम्पत्ति विवरणबारे उठेका प्रश्नको पारदर्शी जवाफ दिनुको साटो ढाकछोप गरिएको, पत्रकार र युट्युबरहरूलाई आलोचनाकै आधारमा पक्राउ गरिएको आरोप लगाए।
‘हिजो पुराना दलहरू सबै उस्तै हुन, सबै खत्तम हुन भन्ने भाष्य निर्माण गरियो। तर आज तपाईहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने काम गर्दै हुनुहुन्छ,’ प्रचण्डको भनाइ छ।
