काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपा भ्रम र विरोधाभासको दर्शन रहेको टिप्पणी रहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले यस्तो बताएका हुन् । रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ ।’
रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति होरहेको उनले बताए । ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले अगाडि भने, ‘यो भ्रम र विरोधाभाषको दर्शन हो । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला हो ।’उनले भने, ‘प्रतिनिधि सभा तथा सङ्घीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो।’
रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापि नभएको जिकिर गरे। उनले थपे, ‘यो सफलता त दशकौँ देखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो।’ रास्वपाको राजनीतिक लक्ष्य आगामी स्थानीय, प्रदेश तथा राष्ट्रिय सभामा रास्वपाको एकल नेतृत्व स्थापित गर्नु भएको बताए।
