काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दलको नेताहरूले सम्बोधन गर्ने तय गरेको छ । बैठकले आजदेखि सुरू हुने २१औँ अधिवेशनका सन्दर्भमा कार्यसूची समेत तयार पारेको छ ।
कार्यव्यवस्था परामर्श समिति बैठकले आज दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा दलीय आधारमा दल नेताहरूले शुभकामना दिने, सरकारले ल्याएका ८ वटा अध्यादेशहरू पेश गर्ने लगायतका विषयमा टुङ्गो लगाएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक लगायतको सहभागिता रहेको थियो । आजै दिउँसो ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
