काठमाडौं । अमेरिका र इरानबीच बिहीबार हर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेकोआरोप लगाएका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड ९सेन्टकम०का अनुसार हर्मुज जलमार्ग हुँदै ओमानको खाडी तर्फ गइरहेका अमेरिकी नौसेनाका तीनवटा गाइडेड–मिसाइल विनाशक जहाजमाथि इरानले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेको थियो।
सेन्टकमले सबै आक्रमणलाई बीचमै निष्क्रिय पारिएको र कुनै अमेरिकी जहाजमा क्षति नभएको जनाएको छ। सेन्टकमले त्यसपछि आत्मरक्षाका लागि इरानका मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरिएको जनाएको छ। ‘हामी तनाव बढाउन चाहँदैनौं, तर अमेरिकी फौजको सुरक्षाका लागि तयार छौं,’ सेन्टकमले विज्ञप्तिमा भनेको छ। इरानले भने अमेरिकाले नै युद्धविराम उल्लंघन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको दाबी गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्स ९आइआरजिसी०ले अमेरिकी सेनाले हर्मुज प्रवेश गरिरहेका एउटा तेल ट्यांकर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ। साथै केश्म टापु तथा दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा अमेरिकी हवाई आक्रमण भएको इरानको दाबी छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पर्सियन खाडीस्थित केश्म टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोट सुनिएको थियो। रिभोलुसनरी गाड्र्ससँग निकट फार्स न्युजले केश्म टापुको बहमन बन्दरगाह क्षेत्रमा ‘शत्रु फौज’सँग भिडन्त भएको जनाएको छ।
इरानका दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयुक्त अरब इमिरेट्समाथि पनि घटनामा संलग्न रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार केश्मस्थित जहाज निर्माण केन्द्र, बहमन बन्दरगाह र बन्दर अब्बासस्थित हवाई अड्डा क्षेत्र लक्षित हमला भएको थियो। यद्यपि यूएईले यसबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन।
इरानको राजधानी तेहरानमा पनि बिहीबार राति ठूलो विस्फोट सुनिएको इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ। पश्चिमी तेहरान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको र स्थानीय बासिन्दामा त्रास फैलिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई सामान्य बनाउने प्रयास गरेका छन्। उनले एबीसी न्युजसँग युद्धविराम कायम रहेको दाबी गरेका छन् भने ट्रुथ सोसलमा पोस्ट लेखेर उनले इरानी साना डुंगा समुद्रमा डुबाइएको र अमेरिकी विनाशक जहाजतर्फ प्रहार गरिएका मिसाइल तथा ड्रोन नष्ट गरिएको उल्लेख गरेका छन्।
ट्रम्पले इरानलाई वार्तामार्फत सम्झौता स्वीकार गर्नसमेत चेतावनी दिएका छन्। ‘यदि उनीहरूले चाँडै सम्झौता गरेनन् भने भविष्यमा अझ कडा र हिंसात्मक जवाफ दिनेछौं,’ उनले लेखेका छन्। इरानको खातम अल–अम्बिया केन्द्रीय कमाण्डले भने अमेरिकी कारबाहीलाई युद्धविराम उल्लंघन भन्दै बलियो प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी टेलिभिजन प्रेस टिभीले केही घण्टाको तनावपछि हर्मुज आसपासको अवस्था सामान्यतर्फ फर्किएको जनाएको छ। गत अप्रिल ७ देखि लागू युद्धविरामपछि दुवै पक्षबीच कहिलेकाहीँ सानोस्तरमा गोली हानाहान हुँदै आएको थियो। सोमबार पनि अमेरिकी सेनाले हर्मुज क्षेत्रमा इरानी ड्रोन, क्रुज मिसाइल र साना डुंगा नष्ट गरेको जनाएको थियो।
यसैबीच, युद्धविरामलाई स्थायी बनाउने अमेरिकी प्रस्तावमाथि वासिङ्टन र तेहरानबीच वार्ता जारी छ। प्रस्तावमा इरानको आणविक कार्यक्रम र हर्मुज जलमार्गमध्य पुनः खोल्ने जस्ता विवादास्पद विषय भने अझै टुंगो लागेको छैन। पछिल्लो तनावपछि अन्तर्राष्ट्रिय तेल बजार पनि प्रभावित भएको छ। एसियाली बजारमा शुक्रबार अमेरिकी कच्चा तेलको मूल्य ३ प्रतिशतसम्म बढेको रोयटर्सले जनाएको छ। हर्मुज जलमार्गमध्यबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने भएकाले त्यहाँको अस्थिरताले विश्व बजारमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।
