काठमाडौं । सांसदहरूको विद्युतीय हाजिरी हुने भएको छ । भोलिदेखि बायोमेट्रिक विवरण संकलन गरिँदैछ । संघीय संसद सचिवालयले एक सूचना निकालेर विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण दिन आउन सांसदहरूलाई आग्रह गरेको छ । बायोमेट्रिक विवरण संकलन गर्न संसदीय समितिअनुसार समय र स्थान फरक–फरक रुपमा तय गरिएको छ । जसअनुसार बायोमेट्रिक विवरण संकलन गर्दा औपचारिक तस्वीर समेत लिइने भएकोले औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाई उपस्थित हुन भनिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई आज बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ । अर्थ समितिका सदस्यहरू र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई पनि अर्थ समितिको हलमा आउन भनिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई आज दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा आउन भनिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थ समितिको हलमा आउन भनिएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ । पूर्वाधार विकास समितिका सदस्यहरू र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म अर्थ समितिको हलमा उपस्थित हुन भनिएको छ । महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई पनि शुक्रवार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा आउन भनिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई शुक्रवार दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थ समितिको हलमा आउन भनिएको छ । सार्वजनिक लेखा समितिका सदस्यहरूको बायोमेट्रिक विवरण लेखा समितिकै हलमा वैशाख २८ गते बिहान १० बजेदेखि १२ बजेसम्म संकलन गरिनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण अर्थ समितिको हलमा वैशाख २८ गते बिहान १० बजेदेखि १२ बजेसम्म संकलन गरिनेछ ।

